Logo

१४ असोज,वीरगञ्ज । मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठोरीलाई कृषि, पर्यटन र वनजन्य स्रोतमा आधारित लगानीका लागि ‘विशेष आर्थिक क्षेत्र (SEZ)’ घोषणाको पहल गर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग आग्रह गरिएको छ।

दशैंको विदामा मंगलबार ठोरी भ्रमणमा पुगेका गभर्नर पौडेलसँग ठोरी जंगल रिसोर्टमा आयोजित अनौपचारिक छलफलका क्रममा स्थानीय युवा उद्यमी र व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन्। उनीहरुले ठोरीको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्न कृषि, पर्यटन तथा वनसम्पदालाई मुख्य आधार बनाएर लगानीमैत्री वातावरण निर्माण गर्न विशेष आर्थिक क्षेत्रको आवश्यकताबारे धारणा राखेका थिए।

छलफलमा सहभागी स्थानीय युवा उद्यमी सुदीप थापाका अनुसार, ठोरीमा वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा स्थापना गर्नुका साथै सबै वडामा मोबाइल बैंकिङ र शाखारहित बैंकिङ सेवा विस्तारको माग समेत राखिएको थियो।

“स्थानीय किसान, महिला समूह, युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा पहुँच वृद्धि गर्न सहकारीमार्फत ऋण प्रवाहको व्यवस्था हुनुपर्छ,” थापाले बताए। उनले पर्यटन, होटल तथा कृषि-उद्योगमा लगानी गर्न चाहनेहरुका लागि सरल प्रक्रिया र कम व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

युवाहरुले डिजिटल वित्तीय पहुँच विस्तार, डिजिटल भुक्तानी प्रणालीको कार्यान्वयन, तालिम तथा प्रविधि सहयोग, र वित्तीय साक्षरताका कार्यक्रम सञ्चालनको माग पनि अघि सारेका थिए।

नेपाल राष्ट्र बैंकका प्रमुख दीर्घ रावल र वीरगन्ज शाखा प्रमुख सुशील पौडेल पनि उक्त छलफलमा सहभागी थिए।

छलफलमा सहभागीहरुले ठोरी गाउँपालिकाभित्रका सहकारी संस्थामार्फत किसान, महिला समूह र युवा उद्यमीलाई वित्तीय सेवामा पहुँच बढाउने व्यवस्था गर्न आग्रह गरेका छन्। उनीहरुले ठोरीलाई पूर्वाधार विकास, वित्तीय पहुँच र लगानी प्रवाहका माध्यमबाट ‘उदाउँदो आर्थिक क्षेत्र’को रुपमा विकास गर्न सकिने सम्भावना औंल्याए।


सम्बन्धित समाचार