१४ असोज, काठमाडौं । चालु आर्थिक वर्षको सुरुवाती दुई महिनाभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ६ हजार ७८६ वटा उजुरी दर्ता भएका छन्।
आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा मात्रै ३ हजार ९२२ वटा उजुरी परेका थिए। तीमध्ये १ हजार १७६ वटा उजुरी आयोगको वेबसाइटमार्फत दर्ता भएका हुन्। साउनमै ईमेलमार्फत ९४३, लिखित रूपमा ८८९, हुलाकमार्फत ६५३ र टेलिफोनबाट १५१ वटा उजुरी प्राप्त भएका थिए।
त्यसैगरी, भदौ महिनामा आयोगमा २ हजार २७६ उजुरी दर्ता भएका छन्। तीमध्ये वेबसाइटमार्फत ७१७, ईमेल र लिखित दुवै माध्यमबाट समान ५२४/५२४ वटा उजुरी प्राप्त भएका छन्। हुलाकमार्फत ३६६ वटा उजुरी दर्ता भएका छन्।
असोज १३ गतेसम्म मात्रै पनि आयोगमा थप ५८८ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ।
आयोगले उजुरी संकलनका लागि आफ्नो वेबसाइट, ईमेल, हुलाक सेवा, टेलिफोन लगायत विभिन्न माध्यम प्रयोग गर्दै आएको छ। उजुरीको चापले भ्रष्टाचारसम्बन्धी जनचासो र निगरानी बढ्दो क्रममा रहेको संकेत दिएको छ।