१५ असोज, काठमाडौँ । नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिहरूको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकार राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा प्रस्तुत भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण रूपमा कथित आयोगको हवाला दिँदै गैरकानुनी र गैरसंवैधानिक रूपमा मानव अधिकार तथा व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने गरी आयोगलाई क्षेत्राधिकारविहीन कार्य गर्न लगाउन सरकार उद्यत देखिएको छ।”
कांग्रेसले सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूको राहदानी रोक्का गरिएको दाबी गरेको छ। “आफ्नै मुलुकभित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनीतिक प्रतिशोध प्रष्टै देखिने गरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नेभन्दा अर्कै बाटो हिँड्न खोजेको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ।
गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने र उनीहरूलाई आयोगको अनुमतिबिना काठमाडौँबाहिर जान नदिने निर्णय गरेको थियो। कांग्रेसले यस निर्णयको कडा विरोध गर्दै यसलाई व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको हननका रूपमा व्याख्या गरेको छ।
















