१७ असोज, काठमाडौँ ।हेटौंडा–काठमाडौं जोड्ने मुख्य दुई सडकमार्गमा असोज १७ गतेदेखि २० गतेसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागले उक्त अवधिमा मकवानपुर क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना औंल्याएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले यो निर्णय लिएको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा हरेक दिन अपराह्न ४ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमन रोकिएको छ। त्यस्तै, हेटौंडा–भैंसे–काठमाडौं सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी निषेध गरिएको छ।
बंगालको खाडीमा विकसित मौसमी प्रणालीको असरले नेपालमा पनि अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित प्राकृतिक प्रकोप र क्षति न्यूनीकरण गर्न चारवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै, अत्यावश्यक बाहेकका सबै यात्राहरू टार्न, नदी तथा खोलानालामा विशेष सावधानी अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।
काभ्रे जिल्ला प्रशासन कार्यालयले पनि बीपी राजमार्गमा असोज १६ देखि २१ गतेसम्म हरेक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ।
त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २१ गतेसम्म कान्ति लोकपथमा राति सवारी सञ्चालनमा प्रतिबन्ध लगाएको छ। मकवानपुरबाट ललितपुरतर्फ बगुवा (बागमती गाउँपालिका–२) हुँदै र ललितपुरबाट मकवानपुरतर्फ टीकाभैरव (गोदावरी नगरपालिका–६) हुँदै बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै साना चारपांग्रे सवारी चल्न पाउने व्यवस्था गरिएको छ।















