Logo

१७ असोज, काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व शून्य हुनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

रौतहटको गरूड़ामा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै साहले सरकार गठन भएको एक महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाउनु र महिलालाई अवसर नदिनु प्रधानमन्त्री कार्कीको नेतृत्वप्रति गम्भीर प्रश्न उठाउने विषय भएको बताए।

“के नेपालमा योग्य महिला नेता छैनन्?”

“महिला प्रधानमन्त्रीले एक जना पनि महिलालाई मन्त्री बनाउन सक्नुभएन? के नेपालमा योग्य महिलाहरू छैनन् र?” भन्दै साहले कटाक्ष गरे।
उनले प्रधानमन्त्री कार्कीको पहिलो कार्यकालको सुरुवातमै यस्तो विभेद देखिनु दुर्भाग्यपूर्ण भएको भन्दै आलोचना गरे।

मन्त्रिपरिषद् अपूर्ण, प्रतिनिधित्व शून्य

साहका अनुसार, सरकारले गठन भएको एक महिना बित्न लाग्दासमेत मन्त्रिपरिषद् अपूर्ण हुनु र त्यसमा महिलाको सहभागिता नहुनु निराशाजनक छ।
“यो प्रधानमन्त्रीको पहिलो असफलता हो,” साहको टिप्पणी थियो।

‘जेनजी आन्दोलनको भावना कमजोर पार्ने प्रयास’

आजपा अध्यक्ष साहले अहिलेको सरकार युवाहरूको बलिदानीबाट बनेको भए पनि उनीहरूको भावना विपरीत पूरानै सोच, शैली र अनुहारहरूको हालीमुहाली देखिन थालेको गुनासो गरे।
“युवा क्रान्तिले केन्द्र मात्र होइन, देशभरका ७६१ वटा सरकारमा भइरहेका लुट, भ्रष्टाचार, र असमानताको अन्त्य गर्न खोजेको हो,” उनले भने।
तर अहिलेको सरकार त्यही आन्दोलनको भावनामाथि खेलवाड गरिरहेको साहको आरोप छ।


सम्बन्धित समाचार