१८ असोज, काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट बन्धक बनाएर राखिएका बाँकी सबैलाई रिहा गर्ने तयारी गरेको जनाएको छ। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल–अमेरिकाबीच भएको गाजा शान्ति सहमतिको अन्तिम समयसीमा नजिकिँदै गर्दा आएको हो।
बीबीसीले जनाएअनुसार, हमासले बन्धक रिहा गर्न सहमति जनाएको छ, तर गाजा शान्ति सहमतिको केही बुँदामा संशोधन आवश्यक रहेको पनि उसले बताएको छ।
हमासको यस घोषणापछि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायललाई गाजामा आक्रमण रोक्न आग्रह गरेका छन्। उनले भनेका छन्, “हमास सहमतिको बाटोमा आएको छ। यसले गाजामा शान्ति स्थापना गर्ने मार्ग खोल्नेछ।”
यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि गाजा मात्र नभई मध्यपूर्वमा दिगो शान्तिका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा सहकार्य गर्न इजरायल तयार रहेको स्पष्ट पारेका छन्।
बन्धक रिहा र आक्रमण स्थगित गर्ने प्रक्रियासँगै गाजाको दीर्घकालीन शान्ति सम्भावना बलियो बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको ठम्याइ छ।

















