Logo

१८ असोज,काठमाडौं । बंगालको खाडीमा विकसित मौसमी प्रणालीको असर नेपालभर परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २० गतेसम्म देशका धेरै भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ।

विभागले ४० जिल्लामा बाढीको उच्च जोखिम रहेको चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ती जिल्लामध्ये काठमाडौं उपत्यकासहितका क्षेत्रहरू विशेष जोखिममा परेका छन्।

विभागका अनुसार अहिले वर्षाको दर क्रमशः बढ्दै गएको छ र राति अझ तीव्र हुन सक्ने सम्भावना छ। यसका कारण काठमाडौं उपत्यकाका विष्णुमती, बागमती, मनोहरा र नख्खु नदीहरूको पानीको सतह सतर्कताको तह नजिक पुगेको छ।

बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार, “काठमाडौंको हकमा सबै प्रमुख नदीहरूमा बाढी सतर्कताको तह नजिक पुगेको छ। आज बेलुका र भोलि विशेष सतर्कता अपनाउन जरुरी छ।”

विभागले नदी किनारमा बसोबास गर्ने तथा डुबान क्षेत्र नजिक बस्ने स्थानीयलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

उच्च जोखिममा रहेका जिल्ला

विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन लगायतका जिल्ला बाढीको अति उच्च जोखिममा छन्।

यसैगरी इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही र कपिलवस्तु पनि उच्च जोखिममा रहेका छन्।

कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दिया जिल्लाहरूलाई मध्यम जोखिमको सूचीमा राखिएको छ।

विभागले आगामी २४ घण्टा विशेष संवेदनशील हुने भएकाले स्थानीय निकाय, उद्धार संयन्त्र र जनसाधारण सबैलाई सचेत रहन आग्रह गरेको छ।


सम्बन्धित समाचार