१८ असोज,रौतहट । बागमती र लालबकैया नदीमा पानीको सतह तीव्र रूपमा बढेसँगै रौतहट जिल्लाका अस्थायी र नदी किनारका बस्तीहरूमा बाढीको जोखिम उच्च बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि सशस्त्र प्रहरी बलले अग्रिम रूपमा सतर्कता र उद्धार तयारीलाई तीव्र बनाएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण, हे.क्वा. रौतहट तथा मातहतका सन्तपुर, दुधियाभार, बिजयपुर र समनपुर बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा माइकिङ अभियान सञ्चालन गर्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्ने आग्रह गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशनअनुसार, असोज १७ गते वृन्दावन नगरपालिका–१ भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा रहेका १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी राम हरी अधिकारीले जानकारी दिए।
“बाढीको जोखिम अत्यधिक भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छौं,” एसपी अधिकारीले भने, “हाम्रो सबै टोली उद्धार र आपतकालीन राहतका लागि २४ सै घण्टा स्ट्यान्डबाइ अवस्थामा छन्।”
पूर्वतयारी र समन्वय
बाढी जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरण तयारी अवस्थामा राखिएका छन्।
उच्च जोखिम क्षेत्रहरू
बागमती र लालबकैया नदी आसपासका भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इशनाथ, देवाही गोनाही र गरुडा क्षेत्रहरूलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ।
हरेक वर्ष मनसुनको समयमा यी क्षेत्रहरू बाढी र डुबानबाट प्रभावित हुने गरेका छन्। यो पटक सशस्त्र प्रहरी र स्थानीय प्रशासनको अग्रिम तयारीले संभावित मानवीय क्षति न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।















