Logo

१८ असोज, काठमाडौं ।  देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को जोखिम उच्च बनेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकलाई सतर्क रहन र विपद् व्यवस्थापनमा साझा प्रयास गर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यसकारण बाढी, पहिरो र डुबानबाट जनधनको क्षति हुन सक्ने जोखिम बढेको छ। सरकारी निकायहरूले समेत सबैलाई सचेत हुन अनुरोध गरिरहेका छन्।

यसै सन्दर्भमा रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सबै तहका संरचना, सदस्य र शुभेच्छुकलाई विपद्को बेलामा मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेका छन्। उनले भनेका छन्, “विपद्को बेला मानवीय सेवा-सहयोगमा जुट्नु सबैको कर्तव्य हो। संभावित विपद्का न्यूनीकरण, घटनापछि खोज–उद्धार, घाइतेको उपचार, राहत वितरण र अन्य सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी जुट्न विशेष आग्रह गर्दछौं।”

पार्टीले नदी तथा खोला तटीय क्षेत्रहरूमा बसोबास गर्ने र स्थलमार्ग प्रयोग गर्ने यात्रुहरूलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सबै नागरिकलाई आफैं सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्न अनुरोध गरिएको छ।

अविरल वर्षाले देशका धेरै ठाउँमा जनजीवन प्रभावित भइरहेकाले जनस्तरबाट साझा सचेतना र सहयोग आवश्यक रहेको बेला यो आह्वानले सुरक्षा र राहत कार्यमा थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार