१८ असोज,वीरगञ्ज । पछिल्लो समय अविरल वर्षाका कारण मधेसका पर्सा, बारा र रौतहट जिल्लामा नदीहरूको जलस्तर सतर्कता तह पार गरी बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले शनिबार दिउँसो करिब २ बजे यी जिल्लाका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ।
महाशाखाका अनुसार पर्साको वीरगञ्ज, रौतहटको गौर र महेशपुर, बाराको कलैया क्षेत्रमा रहेका जलमापन केन्द्रहरूमा नदीहरूको जलस्तरले सतर्कता तह पार गरिसकेको छ। यसले उक्त क्षेत्रका बासिन्दाहरूमा डुबानको खतरा बढाएको छ।
विशेषगरी नारायणी, वाग्मती र लालबकैया नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र डुबान हुन सक्ने स्थानबाट उच्च र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन र निकटस्थ स्थानीय प्रशासनसँग समन्वय गर्न पनि अनुरोध गरेको छ।
स्थानीय तह, प्रशासन र जनता सबैले सहकार्य गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने आवश्यक रहेको छ। बाढीको सम्भावित प्रभावबाट जनजीवन र सम्पत्तिको सुरक्षा गर्न समयमै सुरक्षित स्थानमा सर्न सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

















