१९ असोज, वीरगञ्ज । देशभर केही दिनदेखि निरन्तर परिरहेको वर्षा अब क्रमशः कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले बताएका छन्।
उनका अनुसार, यसअघि पूर्वानुमान गरिएको जस्तै आज र भोलिसम्म ठूलो पानी पर्ने सम्भावना अब घटेको हो। “ठूलो पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अहिले मुख्य रूपमा कोशी प्रदेशमा मात्र केन्द्रित रहेको छ,” अर्यालले बताए।
दिउँसोपछि सो प्रणाली थप मत्थर हुँदै जाने र देशका अधिकांश भागमा ठूलो वर्षाको सम्भावना नरहेको स्पष्ट पार्दै उनले भने, “अब ठूलो पानी पर्ने देखिँदैन, तर हल्कादेखि मध्यम वर्षा भने केही स्थानमा हुन सक्छ।”
विभागका अनुसार विगत २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मुसलधारे वर्षा भएको छ। केही नदी तथा खोला नजिकका बस्तीहरूमा बाढी र डुबानको जोखिम रहे पनि स्थिति क्रमशः सामान्य हुँदै गएको जनाइएको छ।
मौसमविद्हरूले अबको केही दिन वर्षाको मात्रा घट्दै जाने र मनसुनी सक्रियता विस्तारै अन्त्यतर्फ उन्मुख हुने सम्भावना रहेको बताएका छन्।















