१९ असोज, काठमाडौँ । देशका विभिन्न स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पनि वर्षा जारी रहनेछ भने देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको छ।
विभागले जारी गरेको पछिल्लो मौसम विवरणअनुसार, दिउँसो कोशीर मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। बाग्मती र लुम्बिनी प्रदेशमा सामान्य बदली, र बाँकी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।
दिउँसोको समयमा कोशी र मधेस प्रदेशका धेरै स्थानमा, साथै बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
राति पनि मौसममा सुधारको संकेत छैन। विभागका अनुसार, राति कोसी, मधेस, वाग्मतीलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। रातिको समयमा पनि कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, र कोसी प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
विभागका मौसमविद्हरूका अनुसार, हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव सक्रिय अवस्थामा रहेको छ। यही कारणले कोसी, मधेस र बाग्मती प्रदेशमा विशेष रूपमा बादल गतिविधि बढेको र वर्षा तीव्र बनेको जनाइएको छ।
विभागले निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव बढ्न, पहिरो र डुबानको जोखिम रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन स्थानीयवासी र सम्बन्धित निकायलाई आग्रह गरेको छ।















