Logo

१९ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट लामो दुरीका सार्वजनिक सवारी साधनलाई आज बिहानसम्म पनि बाहिर जान रोक लगाइएको छ ।

काठमाडौं उपत्यकाको अवस्था सामान्य बन्दै गए पनि उपत्यकाबाहिरका सडकहरु अझै अवरुद्ध रहेकाले लामो दुरीका गाडी सञ्चालनमा रोक कायम राखिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार अति आवश्यकबाहेक कुनै पनि गाडीलाई काठमाडौंबाट बाहिर जान अनुमति दिइएको छैन । ‘काठमाडौंबाट आज बिहानसम्म कुनै पनि लामो दुरीका गाडी पठाइएको छैन र उपत्यका भित्रिने गाडी पनि रोकिएका छन्,’ उनले भने ।

सुवेदीका अनुसार बसको टिकट काटिसकेकाहरुलाई रकम फिर्ता गरिएको छ । ‘जसले टिकट काटेका थिए, ती सबैलाई पैसा काउन्टरबाट फिर्ता गरिएको छ र थप बुकिङ नगर्न निर्देशन दिइएको छ,’ उनले जानकारी दिए ।

वर्षा, बाढी र पहिरोका कारण सरकारले असोज १८, १९ र २० गतेसम्म काठमाडौं उपत्यका आउजाउ गर्न सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । सडक अवस्था सामान्य भएपछि मात्र लामो दुरीका बस सञ्चालन खुल्ने जनाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै