१९ असोज, वीरगञ्ज । निरन्तर वर्षापछि सिर्सिया (सरिसवा) नदीमा पानीको बहाव तीव्र बनेसँगै वीरगञ्जका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका छन्। वीरगञ्ज महानगरपालिकाका सबैठवा, रामगढवा, र वडा नम्बर १० का विभिन्न टोलहरूमा बाढी पसेको छ।
स्थानीयवासीका अनुसार यो वर्ष पहिलोपटक गाउँभित्रै बाढी पसेको हो । सिर्सिया नदीको पानी ओभरफ्लो भएपछि घरघरमा पानी पसेको र बस्ती जलमग्न बनेको छ। यस्तै, तिलावे नदीको बहाव पनि तीव्र बनेको छ, जसले आसपासका खेतबारी र बस्तीमा डुबान थपिएको स्थानीय प्रशासनले जनाएको छ ।
बाढीको प्रभाव बढी देखिएका क्षेत्रहरूको स्थलगत अनुगमन गर्न वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह स्वयं पुगेका छन् । मेयर सिंहले डुबानग्रस्त बस्तीका प्रभावित परिवारहरूको तत्काल उद्धार र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
उनले भने, “शहरका डुबानग्रस्त टोलमा राहत र उद्धार कार्य प्राथमिकताका साथ अघि बढाइनेछ । स्थानीयवासीको सुरक्षामा कुनै कमी हुन दिइने छैन।”
त्यसैगरी वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानु पनि बिहानैदेखि प्रभावित क्षेत्रहरूको अवस्था बुझ्न स्थलमै उपस्थित भएका छन् । उनले बाढीको कारण तत्कालीन राहत, खानेपानी र आवास व्यवस्थापनमा जोड दिन स्थानीय टोलीहरू परिचालन गरिएको जानकारी दिए ।
सबैठवाका स्थानीय युवाहरूले भने,“पहिलोपटक गाउँमै बाढी पसेको देख्यौं । घरभित्रै पानी छिरेपछि सबै सामान माथि सार्नुपर्यो ।”
यसबीच, वीरगञ्जका अन्य टोलहरूमा पनि सिर्सिया नदीको पानी पसेको छ । मेयर सिंहले नदी आसपासका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।


फोटो : समाजिक सञ्जालबाट















