Logo

१९ असोज,वीरगञ्ज । बाराको कलैया–वीरगंज सडक खण्डअन्तर्गत दुधौरा पुलमा टिकटक भिडियो बनाउने क्रममा दुई जना युवक खोलामा खसेका छन्। उनीहरूमध्ये एकजना बेपत्ता भएका छन् भने अर्का एकजना सकुशल उद्धार भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी बिजयराज पण्डितका अनुसार शनिबार बिहान करिब ८:३० बजे टिकटक बनाउने क्रममा प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विक्की गिरी र अन्दाजी २० वर्षीय अनुराग केशरी दुधौरा खोलामा खसेका हुन्।

घटनापछि अनुराग केशरी खोलाबाट बाहिर आउन सफल भए पनि विक्की गिरी बेपत्ता भएका छन्। उनको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाहरूको सहयोगमा उद्धार टोली परिचालन गरिएको छ।

डिएसपी पण्डितले बताएका छन्, “टिकटक भिडियो खिच्ने क्रममा ती दुई जनाले खोलामा हाम फालेका थिए। यस्तै गतिविधिका कारण यस्तो दुर्घटना भएको हो।”

प्रहरीले सामाजिक सञ्जालका लागि जोखिमयुक्त स्थानहरूमा भिडियो नखिच्न र सतर्कता अपनाउन जनसमुदायलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै