१९ असोज, काठमाडौं । इलाम जिल्लाको विभिन्न स्थानीय तहहरूमा आइतबार रातिदेखिको निरन्तर वर्षापछि गएको पहिरोमा परी कम्तीमा १८ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकाका विभिन्न वडाहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको हो।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार, इलाम नगरपालिका–५, घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जना, माङसेबुङ गाउँपालिका–१, पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५, धारेमा १ जना, त्यसै नगरपालिकाको धुसुनेमा २ जना, तथा फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा १ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
माङसेबुङमा दुई जना गम्भीर घाइते भएको जनाउँदै, उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लैजाने तयारी गरिएको थियो। तर, लगातारको वर्षा र खराब मौसमका कारण हेलिकप्टर परिचालनमा समस्या भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरूको सहकार्यमा उद्धार तथा राहत कार्य जारी रहेको छ। पहिरोका कारण बस्तीहरू जोखिममा परेका छन् भने कैयौं घरपरिवार विस्थापित भएका छन्।
प्रहरीले स्थानियबासीहरूलाई सतर्क रहन र आवश्यक परेको खण्डमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरेको छ। लगातारको वर्षाका कारण थप पहिरोको जोखिम कायमै रहेकोले जोखिमयुक्त क्षेत्र खाली गर्न आग्रह गरिएको छ।















