१९ असोज,वीरगञ्ज । रौतहट जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ। शनिबार दिउँसो र साँझ परेको चट्याङका कारण उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार कटहरिया नगरपालिका–२, हंथियाहीका १६ वर्षीय सेराज लहेरी र नवीन यादव शनिबार बेलुकी करिब ६ः३० बजे चट्याङ लागेर गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि लगिएको भए पनि दुबै जनाको मृत्यु भएको हो।
यसैगरी, ईशनाथ नगरपालिका–८, मनसरीका ४५ वर्षीय शेख जमरुलको पनि आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा दिउँसो नै चट्याङ लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार चट्याङ लागेका सबै घटनामा प्रहरी टोली परिचालन गरिएको थियो र स्थानीयको सहयोगमा उद्धार तथा शव व्यवस्थापन गरिएको छ।
प्रहरीले वर्षा र चट्याङको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकाशे गर्जनसहितको मौसममा खुला ठाउँमा नबस्न र सुरक्षित स्थानमा आश्रय लिन स्थानीयहरूलाई आग्रह गरेको छ।















