१९ असोज, काठमाडौं । असोज १७ र १८ गते परेको अविरल वर्षापछि आएको बाढीले झापा, मोरङ, सिरहा, रौतहट, महोत्तरी लगायतका जिल्लाहरूमा भीषण क्षति पुर्याएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार देशभर करिब १,५०० मिटर तटबन्ध कटान भएको छ । प्रारम्भिक विवरणअनुसार यसबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक तथा कृषि क्षति भएको छ ।
कन्काई नदीको बाढीले झापाको गौरीगञ्ज–२ मा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ । यसले होकलबारी गाउँका ११४ घरधुरी डुबानमा पारेको छ भने करिब ५०० हेक्टर धानखेत नष्ट भएको छ ।
त्यसैगरी, झापा गाउँपालिका–२ को कुवाडीमा पनि २०० मिटर तटबन्ध कटान भई २५ हेक्टर जग्गामा क्षति पुगेको छ । अनुमानित ७५ लाख रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ ।
मोरङको बुढी खोला (केशलिया नदी) मा आएको बाढीले बिराटनगर महानगरपालिका–६ र १२ का बस्तीहरू डुबानमा परेका छन् । यसबाट ७५ घरधुरी विस्थापित भएका छन् ।
कमला नदीको पूर्वी किनारमा सिरहाको १७ पटेरुवामा तटबन्ध कटान हुँदा करिब २५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । रौतहटको लालबकैया नदीले मौलापुर नगरपालिका–१ मर्यादपुरमा ६० मिटर तटबन्ध बगाएको छ, जसबाट १०० हेक्टर धानखेतमा क्षति पुगेको छ ।
बौदीमाई गाउँमा बाढीले १२० मिटर तटबन्ध कटान गर्दा २०० हेक्टर धानखेत डुबानमा परेको छ भने करिब २०० वटा घर–गोठ पनि डुबानमा परेका छन् । यहाँ ६० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
महोत्तरीको रातो नदीले बलवा नगरपालिका, लोहरपट्टी, महोत्तरी गाउँपालिका र जलेश्वर नगरपालिका आसपासका क्षेत्रमा ८९० मिटर तटबन्ध कटान गरेको छ । यसले बन्चौरी, लेउरी, भल्नी, भगवतीपुर, रतबारा, बखरी, खैरा लगायतका बस्तीहरूमा असर पुर्याएको छ ।
जिल्लाको सदरमुकाम जलेश्वर समेत बाढीको चपेटामा परेको छ । महोत्तरीमा मात्रै ८ करोड रुपैयाँ बराबरको क्षति भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।















