Logo

१९ असाज, काठमाडौं । इलाममा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ ।

हालसम्मको विवरणअनुसार ३७ जनाको मृत्यु, १ जना बेपत्ता र २० जना घाइते भएका छन् । मृत्यु हुनेमा १७ जना पुरुष र २० जना महिला रहेका छन् । इलाम नगरपालिकामा एक जना बेपत्ता भएका छन् ।

उद्धार र राहतमा कठिनाई

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा खटिए पनि वर्षा नरोकिएको र भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेको छ। पहिरोका कारण राजमार्गहरू समेत अवरुद्ध छन्, जसले गर्दा राहत सामग्री पुर्‍याउन र क्षतिको यकिन विवरण संकलन गर्न समेत असहज भएको छ।

हाल जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र खानपिनको व्यवस्थापन गर्ने काम पालिकाहरूले गरिरहेका छन् । क्षतिको विस्तृत लेखाजोखाका लागि पालिकाहरूलाई पत्राचार गरिसकिएको र रेडक्रस, प्रहरी तथा पालिकाका प्रतिनिधिहरूको टोलीले छिट्टै विवरण संकलन सुरु गर्ने तयारी छ ।

मुख्य कारण र क्षतिको विवरण

इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले पहिरो जाने घटना रातिको समयमा भएको र अधिकांश मानिसहरू घरभित्र सुतिरहेको समयमा भएर बढी क्षति भएको बताएकी छिन् । उनीहरूले भाग्न वा सुरक्षित स्थानमा जान पाएनन्, जसले गर्दा मानवीय क्षति अत्यधिक हुन गयो । अविरल वर्षाका कारण १३ वटा विभिन्न ठाउँमा पहिरो गएको थियो ।

प्रजिअ नेपालका अनुसार, पहिरो गएका ती ठाउँहरू पहिलेदेखि नै एकदमै जोखिमयुक्त क्षेत्र भनेर पहिचान गरिएका थिएनन् । सदरमुकाम नजिकैको क्षेत्रमा समेत घर भत्किएको थियो । पहिरोले घरहरू पुरिँदा र बगाउँदा नै धेरै मानिसले ज्यान गुमाएका हुन् ।

मानवीय क्षतिको पालिकागत विवरण

देउमाई नगरपालिका ८ जना
माईजोगमाई गाउँपालिका ८ जना
इलाम नगरपालिका ६ जना
सन्दकपुर गाउँपालिका ६ जना
सूर्योदय नगरपालिका ५ जना
माङ्सेबुङ गाउँपालिका ३ जना
फाकफोकथुम गाउँपालिका १ जना
जम्मा ३७ जना


सम्बन्धित समाचार