Logo

२० असोज, काठमाडौँ । शुक्रवार र शनिवारको अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशभर विभिन्न स्थानमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ भने ७ जना अझै बेपत्ता रहेका छन्। सशस्त्र प्रहरी बल (एपीएफ) का सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सबैभन्दा ठूलो क्षति कोशी प्रदेशमा भएको छ।

कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको पुष्टि भएको छ। तीमध्ये सबैभन्दा धेरै ३७ जना इलाम जिल्लाका हुन्। यस्तै, पाँचथरमा ८ जना, उदयपुरमा २ जना, र खोटाङमा २ जनाको ज्यान गएको छ।कोशी प्रदेश बाहिर पनि जनधनको क्षति भएको छ। रौतहटमा ३ जना र काभ्रेपलाञ्चोकमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

बेपत्ता हुनेहरूमा रसुवाबाट ४ जना, बारा, इलाम, र काठमाडौं जिल्लाबाट एक–एक जना रहेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीसहित स्थानीय प्रशासन, नेपाली सेना र नेपाल प्रहरीका टोलीहरू प्रभावित क्षेत्रमा परिचालित छन्। स्थानीय तहका अनुसार अझै पनि थुप्रै स्थानमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राकृतिक विपत्तिका कारण सडक, पुल र घरधुरीमा पनि व्यापक क्षति पुगेको प्रारम्भिक विवरणहरू आएका छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले पहिरो र डुबान सम्भावित क्षेत्रमा सचेत रहन अपिल गरेको छ।


सम्बन्धित समाचार
भर्खरै