२० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा हालै देखिएको ‘जेनजी विद्रोह’पछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, विशेष महाधिवेशनको मिति तथा प्रतिनिधि छनोट कार्यविधिजस्ता विषयहरूमा गम्भीर छलफल भइरहेको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन्।
यसअघि असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरिसकेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आगामी मङ्सिरको अन्तिम साता आयोजना गर्ने तय भएको छ।
अध्यक्ष प्रचण्डले विशेष महाधिवेशनलाई “एकता महाधिवेशन” मा रूपान्तरण गर्ने सम्भावना रहेको बताएका छन्। पार्टीभित्रको ध्रुवीकरण र संभावित एकताको सन्दर्भमा यो महाधिवेशन निर्णायक हुने देखिएको छ।
पार्टी एकता र सांगठनिक सुदृढीकरणलाई लक्षित गर्दै भइरहेको सचिवालय बैठकले महाधिवेशनको कार्यदिशा र तयारीमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।















