Logo

२१ असोज, काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर आफ्नो दलको नेतृत्वमा सरकार बनाउन सक्रिय भएसँगै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गरेका छन् । प्रदेश सांसदहरूसँग जनकपुरमा छलफल गरेर फर्किएका ठाकुरले सोमबार देउवासँग टेलिफोन वार्ता गर्नुअघि कांग्रेस नेता पूर्णबहादुर खड्कासँग पनि भेटघाट गरेका थिए ।

लोसपाको दाबीः देउवा सकारात्मक

लोसपाका नेताहरूले सभापति देउवा लोसपाको नेतृत्वमा सरकार बनाउन सकारात्मक देखिएको र पार्टीमा छलफल गरेर निर्णय सुनाउने आश्वासन दिएको दाबी गरेका छन् । लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले ठूला दलहरूबीच मधेस केन्द्रित दलकै नेतृत्वमा सरकार बनाउने समझदारी रहेको जिकिर गरे। उनले भने, ‘सोहीअनुसार यस पटक लोसपा नेपालले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने भनी दाबी गरेको छ।’

सत्ताको दाबीमा कांग्रेसको ‘इन्ट्री’

लोसपाले नेतृत्व पाउन भने सहज छैन। मधेस प्रदेशका कांग्रेस सभापति तथा सांसद कृष्णा यादवले पनि सरकारको नेतृत्वका लागि दौडधुप बढाएका छन्। उनले मधेसवादी दलका नेताहरूका साथै आफ्ना पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन् । यद्यपि, लोसपाका नेताहरूले जसपा नेपालको समर्थन पनि लोसपालाई नै रहने विश्वास व्यक्त गरेका छन् र यस विषयमा ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पनि संवाद भइसकेको छ।

वर्तमान सरकार अल्पमतमा

हाल जनमत पार्टीका मुख्यमन्त्री सतिष कुमार सिंहले राजीनामा नदिए पनि कांग्रेसले समर्थन फिर्ता लिइसकेकाले उनी अल्पमतमा परिसकेका छन् । मधेस प्रदेश सभामा अब लोसपा, कांग्रेस र जसपा लगायतका दलहरूबीच कसले नेतृत्व लिने भन्नेमा तीव्र राजनीतिक खिचातानी सुरु भएको छ ।


सम्बन्धित समाचार
भर्खरै