२१ असोज, काठमाडौं । नेपालको राजनीतिमा निर्णायक हस्तक्षेपको माग गर्दै विभिन्न पार्टीमा संलग्न २८ जना राजनीतिककर्मीहरूले आ-आफ्ना दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टीको पुनर्गठनको पहल लिन आह्वान गरेका छन् ।उनीहरूले लामो समयदेखि सत्तामा रहेका मुख्य नेतृत्वलाई बिदा नगरिकन राजनीतिक सुधार असम्भव रहेको ठोकुवा गरेका छन् ।
जेनजी आन्दोलनको सम्मानः नेतृत्वले नसुनेको गुनासो
अरविन्द सिंह, नवीन तिवारी, करुणा पराजुलीसहित २८ जनाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनले उठाएका आवाजलाई उच्च सम्मान व्यक्त गरेका छन् । उनीहरूका अनुसार, राजनीतिमा संस्थागत भ्रष्टाचारविरुद्ध नागरिकको आवाज नसुनेपछि विद्रोह अनिवार्य थियो । उनीहरूले जेनजीको आन्दोलनले ‘पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई घुँडा टेकाएको’ दाबी गरेका छन्।
‘मुख्य पात्रहरूलाई बिदा नगरिकन सुधार असम्भव’
२८ राजनीतिककर्मीहरूको मुख्य निशाना दलका शीर्ष नेताहरूमाथि छ। लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरिकन दलहरूको पुनर्गठन हुनै नसक्ने उनीहरुको भनाई छ । उनीहरूले वर्तमान मुख्य नेताहरूले जेनजी आन्दोलनको स्पष्ट सन्देशलाई नसुनेझैँ गरेको र विभिन्न बाहनाबाजी गरेर नेतृत्वमा छलछाम गर्न खोजिरहेको आरोप लगाएका छन्।
यस्तो बाहनाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्ने भन्दै, त्यो दुर्घटना रोक्नका लागि सबै दलका दोस्रो र तेस्रो तहका नेताहरूले कुनै पनि ढिलाइ नगरी पार्टी पुनर्गठनको पहल लिनुपर्ने आह्वान गरिएको छ।

















