Logo

२१ असोज,वीरगञ्ज । त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवको गैरजिम्मेवार व्यवहार र आफ्ना जायज मागप्रति बेवास्ता गरेको भन्दै आजदेखि अनिश्चितकालका लागि प्रशासनिक कार्य ठप्प पार्ने निर्णय गरेका छन्।

कर्मचारी युनियनका अध्यक्ष विनोद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, क्याम्पस प्रमुख किशोरी राय यादवले शिक्षक र कर्मचारीहरूको मागलाई बेवास्ता गर्दै झुटा आश्वासन दिनुका साथै मनोमानी व्यवहार देखाएको आरोप लगाइएको छ। अन्तिम म्याद असोज २० भित्र मागहरू पूरा नगरेपछि कर्मचारीहरूले क्याम्पस प्रमुखसहित अन्य प्रशासनिक कोठाहरूमा तालाबन्दी गरेका हुन्।

युनियनले बजारको तुलनामा क्याम्पसमा कर्मचारीहरूलाई ५० प्रतिशत कम तलबमा काम गर्न बाध्य पारिएको गुनासो गर्दै विगत अढाई वर्षदेखि तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान लगायत सुविधा माग गर्दै संघर्ष गरिरहेको बताएका छन्। यद्यपि, क्याम्पस प्रमुख किशोरी राय यादवको गैरजिम्मेवार रवैयाका कारण सुधार हुन नसकेको आरोप पनि लगाइएको छ।

शिक्षक तथा कर्मचारीहरूले क्याम्पस प्रमुखमाथि शैक्षिक वातावरण बिगार्ने, कर्मचारी र शिक्षकबीच विभाजन ल्याउने, व्यक्तिगत स्वार्थमा क्याम्पस बन्द गर्ने धम्की दिने, र नजिकका व्यक्तिलाई बढी सुविधा दिने जस्ता गम्भीर आरोप लगाएका छन्। युनियनले किशोरी रायको योग्यतामाथि समेत प्रश्न उठाउँदै उनी क्याम्पसको हितमा सोच्ने व्यक्तिको रुपमा नभएको दाबी गरेको छ।

कर्मचारी युनियनले माग गरेको थियो कि त्रिभुवन विश्वविद्यालय वा नेपाल पब्लिक क्याम्पस संघसरह तलब र सुविधा उपलब्ध गराइयोस्, तहअनुसार बढुवा र ग्रेडिङ प्रणाली लागू गरियोस्, नयाँ शिक्षकलाई उचित पदमा नियुक्ति गरियोस्, तलब एकरुप बनाईयोस् र प्रत्येक महिनाको ५ गतेभित्र तलब वितरण सुनिश्चित गरियोस्।

असोज २० गतेसम्म माग पुरा नभएमा प्रशासनिक कार्य ठप्प गर्ने चेतावनी दिएकोमा पनि कुनै सकारात्मक जवाफ नआएपछि तालाबन्दी गर्न बाध्य भएको कर्मचारी युनियनले जनाएको छ।

तालाबन्दीका कारण क्याम्पसमा प्रशासनिक काम ठप्प हुँदा हजारौँ विद्यार्थीको शैक्षिक गतिविधिमा गम्भीर असर पर्ने देखिएको छ। क्याम्पस वीरगञ्जको एक प्रमुख शैक्षिक संस्था भएकाले यस घटनाले विद्यार्थी र अभिभावकहरूमा चिन्ता बढाएको छ।

क्याम्पस प्रमुख किशोरी राय यादवसँग फोन सम्पर्क गर्दा उनले बैठकमा रहेको भन्दै पछि कुरा गर्ने बताएकी छन्।


सम्बन्धित समाचार