Logo

२१ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १० गीता मन्दिर नजिकै गत असोज १४ गते राति भएको शिवम साह कानु ‘गोल्डेन’को हत्या प्रकरणमा मुख्य आरोपी अंशु गिरीलाई पर्सा प्रहरीले एक हप्तापछि वीरगञ्जबाट पक्राउ गरेको छ।

पर्सा प्रहरी स्रोतका अनुसार, धोरे घर भएका २४ वर्षीय गिरीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ। यो हत्यामा ग्याङस्टरहरूमाझ चलिरहेको होडबाजी र पुरानो रिसइबी साध्ने प्रतिशोध मुख्य कारण रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटना भएको राति करिब ११ः३० बजे झैझगडा सुरु भयो। गम्भीर घाइते भएका गोल्डेनलाई तत्काल नारायणी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो। अनुसन्धानले मृतक र विपक्षी समूहबीच पहिले पनि झगडा हुने गरेको पुष्टि गरेको छ।

गोल्डेन गहवामाई मेलामा गएको मौका छोपी विपक्षी युवाहरूले उनलाई एक्लै पारी हात, मुक्का र बाँसका भाटा प्रहार गरी हत्या गरेका थिए।

मुख्य आरोपी अंशु गिरि पक्राउ हुनु अघि नै पाँच जना अभियुक्त पक्राउ परेका छन्। उनीहरूमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्। पक्राउ पर्ने सबै रामगढवा, वडा नं. २४ का निवासी हुन्।

यो घटनाले वीरगञ्जमा शान्ति सुरक्षा र युवाहरूको हिंसात्मक व्यवहारप्रति प्रश्न उब्जाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार