२२ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित भानु चोकको होटल शाह पाराडाइजको कोठा नम्बर १११ मा भारतको कोलकाताबाट आएका बुबा र छोरा मंगलबार साँझ मृत भेटिएपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। कोठाभित्र मृत भेटिएका दुवै जनाको शव प्रहरीले बुधबार बिहान निकालेर पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ।
ज्यान गुमाउनेमा भारत, पश्चिम बङ्गाल राज्यको कोलकातास्थित त्रिपुरा क्षेत्रका ६७ वर्षीय सजल आचार्जी र उनका २४ वर्षीय छोरा सागर आचार्जी रहेको पर्सा प्रहरीले पुष्टि गरेको छ।
मंगलबार बेलुकी होटलका कामदारले गरे शंका
दुवै जना असोज १९ गते होटलको कोठा नम्बर १११ मा बास बसेका थिए। मंगलबार बेलुकी ७ बजेसम्म पनि उनीहरू खान खान नआएपछि होटलका कामदारहरूले उनीहरूलाई बोलाउन कोठामा गए। तर, ढोका भित्रबाट बन्द थियो र पटक–पटक ढकढक्याउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया नआएपछि शंका उत्पन्न भयो।
त्यसपछि, होटलका कर्मचारीहरूले छेउको अर्को कोठाबाट भन्टिलेटरमार्फत भित्र झ्यालतिर हेर्दा दुबै जनालाई अचेत अवस्थामा देखेपछि तत्काल होटलका सञ्चालकलाई खबर गरे।
प्रहरी पुगे पनि राति कोठा नखोलियो
होटल सञ्चालकले साँझ करिब ७:३० बजे प्रहरीलाई खबर गरे। प्रहरी टोली घटनास्थल पुगेपछि भन्टिलेटरबाट हेर्दा सजल ओछ्यानमा घोप्टो परेको र छोरा सागर छतको पंखामा झुण्डिएको अवस्थामा देखिएको पुष्टि भएको थियो।
तर, रात परिसकेकाले र अन्य सुरक्षा तथा कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले प्रहरीले सो रात कोठाको ढोका नखोली घटनास्थलको निगरानीमा मात्र राख्यो।
बिहान कोठा खोलेर शव निकालन
बुधबार बिहान करिब ७:३० बजे प्रहरी टोलीले कोठाको लक फोडेर प्रवेश गर्यो। जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, भित्र प्रवेश गर्दा बुबा सजल ओछ्यानमा घोप्टो परेका थिए भने छोरा सागर सिलिङ पंखामा डोरीको सहायताले झुण्डिएको अवस्थामा भेटिएका थिए।
सजलको घाँटीमा नील डाम देखिएको समेत डीएसपी लम्सालले बताए, जसले शंका झनै गहिरिएको छ। प्रारम्भिक दृश्यअनुसार सम्भावित हत्या र आत्महत्याको कोणबाट अनुसन्धान भइरहेको भए पनि घटनाको वास्तविक कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।
पोष्टमार्टम र अनुसन्धान प्रक्रिया अगाडि बढ्दै
दुवै शव नारायणी अस्पताल, वीरगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ। पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र दुवैको मृत्युको कारणबारे स्पष्ट हुने प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रमाण संकलन गरिँदैछ भने होटलको सीसीटीभी फुटेज, दुवै मृतकका मोबाइल, कागजातहरू र होटल बुकिङ विवरणसमेत संकलन गरिएको छ।
डीएसपी लम्सालले भने, “घटनाको प्रकृति शंकास्पद छ। हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौं। पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं।”
भारतीय महावाणिज्य दूतावासलाई जानकारी
घटना भारतका नागरिकसँग सम्बन्धित भएकाले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासलाई पनि अनौपचारिक रूपमा जानकारी गराइसकेको प्रहरीले जनाएको छ। दूतावाससँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।
यस्तो रहस्यमय घटनाले होटल व्यवसायी र स्थानीयमा त्रास फैलाएको छ। होटल सञ्चालकले भने, “उनीहरू एकदमै सामान्य व्यवहार गर्दै बसेका थिए। हामीले यस्तो अकल्पनीय घटना होला भन्ने सोचेकै थिएनौं।”यो घटना अहिले पर्सा जिल्ला प्रहरीको गम्भीर अनुसन्धानको विषय बनेको छ, र यसको निष्कर्ष आउन केही समय लाग्ने देखिएको छ।















