२२ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशव्यापी रूपमा जाहेरी अभियान चलाउने भएको छ ।
अखिलले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीलाई आधार मानेर उनीहरूविरुद्ध देशैभरका जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी दिन लागेको हो । अखिलका महासचिव दीपक धामीले सार्वजनिक सम्पत्ति, अदालत र प्रहरी चौकीहरूमा क्षति पुगेको भन्दै आज देखि नै जिल्ला जिल्लामा जाहेरी दर्ता गर्ने तयारी भएको बताएका छन् ।
‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौं,’ उनले भने। यसअघि, अखिलले मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न खोजेको थियो, तर प्रहरीले सो जाहेरी तत्काल दर्ता नगरी सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।
एकातिर बालेन शाहका विरुद्ध एमालेका नेता महेश बस्नेतले षड्यन्त्रको आरोप लगाएका छन् भने, अर्कोतिर एमाले निकट विद्यार्थी संगठनले बालेन र जेनजी आन्दोलनका अगुवाविरुद्ध नै देशव्यापी जाहेरी अभियान सुरु गरेपछि यो विषयले थप राजनीतिक र कानूनी जटिलता ल्याउने देखिएको छ।















