Logo

२३ असोज, काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको विश्वास दिलाउने एउटा भिडियो सार्वजनिक भएको छ।

इजरायली गुप्तचर अधिकारीहरूले हालै प्राप्त गरेको उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरेका हुन् । कञ्चनपुरका विपिन जोशीको परिवारले गाजाबाट प्राप्त यो भिडियोलाई जीवनको प्रमाणको रूपमा लिएको छ। परिवारले विज्ञप्ति जारी गर्दै उक्त भिडियोले उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको जनाएको छ । लामो समयदेखि छोराको अवस्थाबारे अन्योलमा रहेको परिवारका लागि यो खबरले ठूलो आशाको सञ्चार गरेको छ।

बन्धक बनाइएको घटनाक्रम

विपिन जोशी गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । उनी अर्न एण्ड लर्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका थिए । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था अज्ञात थियो ।

सार्वजनिक भिडियोको विवरण

अहिले इजरायली गुप्तचर अधिकारीहरूले सार्वजनिक गरेको भिडियो ३३ सेकेन्ड लामो छ। भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको र इजरायल अर्न एण्ड लर्न कार्यक्रमको सिलसिलामा आएको बताएका छन् । यद्यपि, भिडियो कहिले खिचिएको हो भन्ने कुरा स्पष्ट छैन। उनले गाढा नीलो कपडा लगाएको देखिन्छ र यो भिडियो पुरानो हुन सक्ने अनुमान गरिएको छ।

विपिनलाई सुरक्षित रिहा गराउन नेपाल सरकारको कूटनीतिक प्रयास जारी रहे पनि उल्लेख्य प्रगति हुन सकेको छैन ।
यसअघि, सरकारको पहलमा विपिनकी आमा र बहिनी इजरायल भ्रमण गरेर फर्किएका थिए। हाल उनीहरू विपिनको अवस्थाबारे अन्तर्राष्ट्रिय पहलका लागि अमेरिकामा रहेका छन् ।

 


सम्बन्धित समाचार