२३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले वर्तमान सरकारले देशमा मुठभेडको वातावरण सिर्जना गर्न खोजेको भन्दै गम्भीर आरोप लगाएका छन् ।
उनले सरकार प्रतिशोधको भावनाबाट ग्रसित भएको र यसले निर्वाचनको वातावरण समेत नबिगारेकोमा शङ्का व्यक्त गरेका छन् । नेता सापकोटाले तोकिएको समयमा निर्वाचन हुने कुरामा आफूलाई शङ्का लागेको बताए। सरकारले अहिलेसम्म प्रमुख राजनीतिक दलहरूसँग औपचारिक वा अनौपचारिक कुनै पनि प्रकारको संवाद नगरेको उनको भनाई छ ।
लोकतन्त्रको हिस्सेदार राजनीतिक दलहरूलाई बाहिर राखेर प्राविधिक तयारीका आधारमा मात्र निर्वाचनको माहौल नबन्ने र दलहरूले निर्वाचनलाई स्वीकार गर्ने वातावरण नबन्ने प्रक्रिया सफल हुन नसक्ने सापकोटाको दावी छ । वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन गराउनु भएपनि सरकारले दलहरूसँग छलफल नै नगरी मिति घोषणा गरेर वातावरण बिगारेको सापकोटाको आरोप छ ।
जेन–जीसँग तत्काल संवादको आवश्यकता
सापकोटाले जेन–जी आन्दोलनलाई सही दिशा दिन राजनीतिक दलहरूले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् । जेन–जीले उठाएका जायज एजेन्डाहरूलाई हाईज्याक गरेर अराजकतातिर लैजाने खतरा बढ्दै गएको छ । उनले सबै राजनीतिक दलका युवा प्रतिनिधिहरू र जेन–जीका प्रतिनिधिहरूबीच सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न प्रस्ताव राखेका छन् । सो सम्मेलनले जेन(जीका जायज मागहरूको सम्बोधन, संविधान संशोधन, विध्वंसको पुनर्निर्माण, समृद्धि र सुशासनको सुनिश्चितता जस्ता राष्ट्रिय सङ्कल्पका विषयमा मार्गचित्र तय गर्नुपर्ने उनको भनाइ छ।
‘प्रतिशोधको भावना’ ले मुठभेड सिर्जना
सापकोटाले सरकार निश्चित घटनाक्रमलाई लिएर प्रतिशोधको भावनाबाट ग्रसित भएको आरोप लगाए। उनले जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ ‘हामी नेपाल’ एनजिओका संस्थापक जस्ता कोही पनि विधिभन्दा माथि हुन नसक्ने भन्दै राज्य कोही कसैको लहडमा लाग्न नहुनेमा जोड दिए । उनले पछिल्ला घटनाक्रमहरूले सरकारले सहज सङ्केत नदिएको र समाजलाई मुठभेडको दिशामा धकेल्न अग्रसर भएको दाबी गरे ।















