२३ असोज, काठमाडौं । दशैं बिदापछि लगातार दुई दिनको गिरावट बेहोरेको सेयर बजारले आज बल्ल राहतको सास फेरेको छ ।
हप्ताको कारोबारमा पहिलोपटक नेप्से परिसूचक दोहोरो अंकले बढेर २२ दशमलव ५९ अंकले हरियो भएको छ। बजारमा यो उत्साह आउनुको मुख्य कारण नेपाल राष्ट्र बैंकको पछिल्लो निर्णय हो । राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा रहेको २५ करोड रुपैयाँको एकल ग्राहक कर्जा सीमा हटाएपछि लगानीकर्ता उत्साहित बनेका हुन् ।
कारोबार सुरु भएको तेस्रो मिनेटमै बजार ४ प्रतिशतले उकालो लागेपछि पोजेटिभ सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। यद्यपि, पुनः खुलेपछि सूचकको गति भने केही सुस्ताएको थियो । आज नेप्से परिसूचक बढेर २५८२ दशमलव १८ विन्दुमा रोकिएको छ।
कारोबारमा सुधार, तर रकममा सुस्तता
सूचकमा सुधार आए पनि कारोबार रकममा भने अपेक्षाकृत सुधार आएको छैन। आज कुल १ करोड १८ लाख कित्ता सेयर बिक्रीबाट ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ। विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर, एमबीएल इक्विटी फन्ड लगायतको मूल्य अधिकतम ८ दशमलव २१ प्रतिशतसम्मले बढेको छ। जम्मा ४१ वटा कम्पनीको मूल्य घटेको छ। थ्रिस्टार हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट लगायतको मूल्य अधिकतम ९।०९ प्रतिशतसम्मले घटेको छ ।
सर्वाधिक कारोबारस् आज सबैभन्दा बढी शिवम् सिमेन्टको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। लगातारको गिरावटपछि आएको यो उछालले बजारलाई पुरानै लयमा फर्काउन सहयोग गर्ने अपेक्षा लगानीकर्ताले गरेका छन्।

















