२४ असोज, काठमाडौँ । इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ। इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत गर्दै बीबीसीले मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरू छाड्ने योजना पारित गरेको जनाएको छ।
यसअघि हिजो इजिप्टमा इजरायल र हमासबीच सम्झौताका प्रारम्भिक चरणमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार पहिलो चरणमा दुबै पक्षले तत्काल युद्धविराममा सहमति जनाएका छन्। साथै हमासले कब्जामा रहेका इजरायली बन्धकहरूलाई क्रमिक रूपमा रिहा गर्नेछ भने इजरायलले पनि सयौं प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सम्झौतामा गाजाबाट केही इसरायली सैनिकहरू फिर्ता हुने र दैनिक सयौं ट्रकमार्फत मानवीय सहायता गाजा प्रवेश गर्ने व्यवस्था समेत समावेश गरिएको छ। यो व्यवस्थाबाट लामो समयदेखि घेराबन्दीमा परेका गाजावासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त सम्झौताको स्वागत गर्दै “इजरायली बन्धकहरू आउँदो सोमवार वा मङ्गलबारसम्म स्वदेश फर्किनेछन्” बताएका छन्। उनका अनुसार यो सहमति अमेरिका, इजिप्ट र कतारका संयुक्त कूटनीतिक प्रयासबाट सम्भव भएको हो।
ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ पनि हिजो इजरायली मन्त्रीपरिषद्को बैठकमा उपस्थित रहेका थिए, जहाँ सम्झौताको कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।
इजरायल र हमासबीचको यो प्रारम्भिक सहमति मध्यपूर्वमा स्थायी शान्ति स्थापनाको दिशामा पहिलो ठोस कदमका रूपमा हेरिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।
यसअघि गाजामा निरन्तर जारी युद्धका कारण हजारौं नागरिकको ज्यान गएको र लाखौं विस्थापित भएका थिए। अब यो सम्झौता क्षेत्रीय स्थायित्व र मानवीय संकट समाधानतर्फको महत्वपूर्ण मोड बन्न सक्ने बताइएकाे छ।

















