२४ असोज, काठमाडौँ । दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फिलिपिन्सको भूकम्प विज्ञान एजेन्सी (PHIVOLCS) का अनुसार भूकम्पपछि धेरै पटक परकम्प महसुस गरिएको छ। पहिलो ठूलो धक्कापछि आधा घण्टाभित्र नै ५.९ र ५.६ म्याग्निच्युडका परकम्पहरू गएको पुष्टि गरिएको छ।
एजेन्सीले यो भूकम्पबाट विनाशकारी सुनामी आउने सम्भावना रहेको बताएको छ। सुनामीका छालाहरू एक मिटरभन्दा बढी उचाइमा पुग्न सक्ने चेतावनी दिँदै मध्य र दक्षिणी फिलिपिन्सका तटीय शहरहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च भू–भागमा सर्ने आग्रह गरिएको छ।
हालसम्म मानवीय क्षति वा ठूला भौतिक क्षतिको रिपोर्ट प्राप्त नभएको बताइए पनि स्थानीय प्रशासन र उद्धार निकायहरू उच्च सतर्क अवस्थामा रहेका छन्।
यसअघि गत सेप्टेम्बर ३० मा सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु र करिब १५० जना घाइते भएका थिए। लगातारका शक्तिशाली भूकम्पहरूले फिलिपिन्समा विपद् व्यवस्थापन संयन्त्रमा पुनः चुनौती थपेको जनाइएको छ।

















