Logo

२४ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा घोषित प्रतिनिधिसभा निर्वाचन को वातावरण तयार पार्न राजनीतिक दलहरू र सरकार सँग सक्रिय संवाद थाल्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज दिउँसो शीतल निवासमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र सरकारका प्रतिनिधिहरू सँग छलफल आयोजना गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले आगामी फागुन २१ गते का लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचनका मुख्य सरोकारवाला राजनीतिक दलहरूसँग पर्याप्त संवाद नभएको भन्दै राष्ट्रपति पौडेलले यो पहल गर्नुभएको हो । राष्ट्रपति पौडेल बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि छलफल गर्ने निष्कर्षमा पुग्नुभएको थियो ।

सो भेटमा प्रधानमन्त्री कार्कीले नै निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गर्नुभएको थियो । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई पनि निर्वाचनका लागि सबै दलहरूसँग संवाद र पहल गर्न चासो राख्दै भन्नुभएको थियो ।

निर्वाचनको मिति घोषणा भइसकेपछि राजनीतिक सहमति र विश्वासको वातावरण बनाउन राष्ट्रपति पौडेलले दलहरूलाई एकै ठाउँमा ल्याएर छलफल गर्न लाग्नुभएको हो ।


सम्बन्धित समाचार