Logo

२४ असोज,वीरगञ्ज । रौतहट जिल्लामा असोज १७ र १८ गते परेको भारी वर्षा र हावाहुरीका कारण धानबालीसहित तरकारी, उखु, केरा र फलफूलमा ठूलो क्षति पुगेको छ।

कृषि ज्ञान केन्द्र गौरका अनुसार, जिल्लाभरि रोपाइँ गरिएको कुल ३६ हजार हेक्टर क्षेत्रफलमध्ये करिब १५ प्रतिशत, अर्थात् १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको हो। बागमती, लालबकैया, चादी, झाझ र लमाहा नदिको आसपासमा बग्ने पानीका कारण खेत डुबानमा परेपछि धानबालीमा सबैभन्दा बढी क्षति भएको केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले धानसँगै अन्य बालीहरूमा पनि ठूलो क्षति भएको जानकारी दिए। उनका अनुसार, १.३१ प्रतिशत हेक्टर क्षेत्रमा लगाइएको उखु, ४ सय हेक्टरमा फैलिएको तरकारी बाली, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको केरा तथा २.३२ प्रतिशत हेक्टर क्षेत्रफलको फलफूल उत्पादनमा समेत क्षति पुगेको छ।

कृषकहरू समयमै वर्षा नहुँदा रोपाइँको चिन्तामा थिए, तर बाला लाग्ने समयमै भएको अत्यधिक वर्षाले झनै पीडामा पारेको छ। “यति बेला धान परिपक्व हुँदै थियो, तर पानी र हावाले खेतमा लडायो,” रौतहटका एक कृषक रामनाथ पटेलले बताए। उनका अनुसार, भीषण वर्षाले उत्पादनमा ठूलो क्षति पुर्‍याएको छ।

क्षति बेहोरेका कृषकहरूले स्थानीय, प्रादेशिक र संघीय सरकारसँग तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। उनीहरूको भनाइमा, प्राकृतिक विपत्तिका बेला सरकार गम्भीर भएर कृषकको पीडामा मलम लगाउने खालको नीतिगत सहयोग आवश्यक छ।


सम्बन्धित समाचार