Logo

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो तथा सोही प्रकृतिका अन्य संस्थाहरूलाई अबदेखि विदेशी मुद्राको कारोबार गर्नका लागि अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गरेको छ। विदेशी विनिमयको नियमनलाई थप कडाइ गर्ने उद्देश्यसहित राष्ट्र बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्णयको जानकारी दिएको हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारद्वारा जारी सूचनामा भनिएको छ, “क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुपर्नेछ।”

यो व्यवस्था विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ र विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ४ अनुसार लागू गरिएको हो। अब विदेशी मुद्रामा कारोबार गर्न इच्छुक क्यासिनो तथा यस्तै प्रकृतिका संस्थाले राष्ट्र बैंकमा आवश्यक कागजात र विवरण बुझाई स्वीकृति लिनुपर्नेछ।

अनधिकृत कारोबारमा रोक

राष्ट्र बैंकले ऐनको दफा १२ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै यो सूचना जारी गरेको हो। बैंकको भनाइअनुसार, यस कदमले अनधिकृत रूपमा भइरहेको विदेशी मुद्राको कारोबारमा रोक लगाउनेछ र मुद्राको चलनचल्तीलाई व्यवस्थित बनाउनेछ।

विगतमा इजाजतबिनै विदेशी मुद्रा कारोबार गर्ने संस्थामाथि कारबाहीका घटनाहरू बढिरहेको अवस्थामा राष्ट्र बैंकको यो निर्णय आएको हो। अब नियमन उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी बैंकले दिएको छ।


सम्बन्धित समाचार