Logo

२४ असोज, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा शुक्रबार भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका थिए, जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सुर्खेत प्रहरीले दिएको जानकारीअनुसार, गम्भीर घाइते ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि शनिबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको हो।

चंखेली गाउँपालिका–४ बेशी खोला सडकखण्डमा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप जिप मेल्छामबाट पिप्लाङतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा परेका अन्य घाइतेहरूलाई पनि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नजिकैको पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको थियो। तर गम्भीर घाइतेहरूको अवस्था त्यहाँ सम्हाल्न नसकिने देखिएपछि सुर्खेत पठाउन हेलिकप्टरको सहारा लिनु परेको हो।

घटनास्थल दुर्गम भएको र भौगोलिक चुनौतीका कारण उद्धारमा कठिनाइ भए पनि सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिधिहरूको समन्वयमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो। बाँकी घाइतेहरूको अवस्था स्थिर रहेको जनाइएको छ।


सम्बन्धित समाचार