Logo

२४ असोज, काठमाडौँ । लामो संवादहीनता तोड्दै प्रधानमन्त्री सुशीला कार्की आज पहिलोपटक राजनीतिक दलहरूसँग प्रत्यक्ष छलफलमा सहभागी हुने भएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न डाकेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्की सहभागी हुने तय भएको हो । जेनजी आन्दोलनको केन्द्रविन्दुमा दल र तिनका प्रमुख नेताहरू रहेकाले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले अहिलेसम्म दलहरूसँग औपचारिक परामर्श गरेको थिएन । राष्ट्रपतिको पहलकदमीपछि यो संवादहीनता टुटेको छ।

शीर्ष नेताहरूलाई छैन निम्तो, को–को सहभागी हुँदैछन् ?

राष्ट्रपति कार्यालयले बोलाएको भए पनि आजको बैठकमा तीन ठूला दलका शीर्ष नेताहरू भने सहभागी नहुने भएका छन् । दलका प्रमुख नेताहरूलाई नभई दोस्रो तहका नेताहरूलाई मात्र आमन्त्रण गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र एक महामन्त्री सहभागी हुने तयारीमा छन् । माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षामान पुन ले प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल सहभागी हुने तय भएको छ । नेकपा एसबाट भने अध्यक्ष माधवकुमार नेपाल आफैँ उपस्थित हुन चाहेको बुझिएको छ। नेकपा एमालेबाट को सहभागी हुने भन्ने टुङ्गो लागिसकेको छैन ।

दलहरूसँग छलफल र परामर्शबिना निर्वाचन कार्यक्रम अघि बढाइएको भन्दै दलहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला आज सरकार र दलका नेताहरू आमनेसामने हुँदा महत्त्वपूर्ण राजनीतिक बहस सुरु हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार