२४ असोज, काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा सरकार वा गृह मन्त्रालयले गोली हान्ने कुनै आदेश नदिएको बताएका छन् ।
लामो समयपछि मिडियामा सार्वजनिक भएका लेखकले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन् । आन्दोलनमा भएको क्षतिका विषयमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रश्न उठिरहेका बेला लेखकले बोलेका हुन् । उनले भनेका छन् ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन्। यो प्रधानमन्त्रीले, गृहमन्त्रीले कुनै पनि रूपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन।’
लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा गोली चलाउने वा नचलाउने निर्णय परिस्थितिजन्य हुने र त्यसको आदेश केन्द्रबाट नजाने उल्लेख गरेका छन् ।पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएको विषय पनि यथार्थमा सत्य देखिएको बताएका छन् ।














