२४ असोज, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रक्रियाका लागि पत्राचार गरेका छन् ।
मुख्यमन्त्री सिंहले यही असोज २८ गते प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयलाई अनुरोध गरेका हुन् । मुख्यमन्त्री सिंहले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनका लागि प्रदेश सभाका सचिवलाई सम्बोधन गर्दै पत्र पठाएका हुन् । सिंह नेतृत्वको सरकारलाई गत भदौ ३१ गते आफ्नै दल जनमतले समर्थन फिर्ता लिएको पत्र प्रदेश सभामा बुझाएको थियो । संवैधानिक व्यवस्थाअनुसार, समर्थन फिर्ता भएको मितिबाट ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
राजीनामाको घोषणा र बोली फिराइ
मुख्यमन्त्री सिंहले भदौ २३ र २४ मा जेनजी आन्दोलन चर्किएको समयमा राजीनामाको घोषणा गरेका थिए । तर, अन्तरिम सरकार गठन भएपछि उनले आफ्नो बोली फिर्ता लिएका थिए । उनले फेसबुकमा राजीनामा लेख्नुको कारण ‘विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस्’ भन्ने मात्र रहेको बताउँदै आएका छन् ।
नयाँ सरकार गठनको प्रयास
मुख्यमन्त्री सिंह विश्वासको मत लिने तयारीमा रहेकै बेला मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि पहल पनि भइरहेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव को नेतृत्वमा नेकपा एमाले र जनमत सहितका दलहरूले गत बुधबार ५८ प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् । मुख्यमन्त्री सिंहको यो कदम नयाँ गठबन्धनको सरकार गठनको प्रयासलाई रोक्ने वा विश्वासको मत लिएर आफ्नो नेतृत्व कायम राख्ने अन्तिम प्रयासका रूपमा हेरिएको छ।

















