२४ असोज,वीरगञ्ज । डेढ महिनाअघि देखिएको हैजा र झाडापाखालाको महामारीको प्रभाव अझै नियन्त्रणमा नआएकाले पर्सा र बारामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सुरु गरिने भएको छ।
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकासहितका विभिन्न पालिकामा भदौ ६ गतेदेखि हैजा र झाडापाखालाको प्रकोप फैलिएपछि अहिले पनि अस्पतालमा बिरामीको उपचार भइरहेको छ। अवस्था नियन्त्रणमा नआएको भन्दै सरकारले पर्सा र छिमेकी जिल्ला बारामा एकैसाथ खोप अभियान सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म चल्ने यो अभियानमा ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिइनेछ। “एक वर्ष माथिका सबै व्यक्तिलाई यो खोप दिइनेछ,” ठाकुरले जानकारी दिए।
१ हजार ९५० खोप केन्द्र स्थापना
अभियानका लागि जिल्लाभर १ हजार ९५० वटा खोप केन्द्र स्थापना गरिनेछ। यी खोप केन्द्रहरु पालिका र वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, विद्यालय, कलेज, कार्यालय, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल-भारत सीमा नाका, उद्योग कलकारखाना लगायत स्थानमा सञ्चालन गरिने बताइएको छ।
यस अभियानमा महिला स्वास्थ्य स्वयंसेविका १ हजार ५४४ जना र स्वास्थ्यकर्मी ३५० जना गरी कुल १ हजार ८९४ जना जनशक्ति परिचालन गरिनेछ।
बाराका ६ पालिकामा पनि खोप अभियान
पर्सासँगै बाराका १६ मध्ये ६ पालिकामा पनि खोप अभियान सुरु हुने जनाइएको छ। ती पालिकाहरुमा कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका रहेका छन्।
सरकारले खोप अभियानका लागि विदेशबाट १० लाख १८ हजार १ सय डोज खोप आयात गरिसकेको छ।जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, हैजा प्रभावित क्षेत्रका साथै सम्भावित जोखिमयुक्त क्षेत्रमा हैजाको संक्रमण फैलिन नदिन खोप अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


















