२४ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज शीतल निवासमा बसेको सर्वदलीय बैठकमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरू सहभागी भएका छन्। राष्ट्रिय सहमति र समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलको सक्रियतामा यो बैठक आयोजना गरिएको हो।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की सहित सरकारका सबै मन्त्रीहरूको उपस्थिति रहेको छ।
सबै दलका प्रतिनिधिहरूको सहभागिता
सर्वदलीय बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन्। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वउपमहासचिव वर्षमान पुन सहभागी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य उपस्थित थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा बैठकमा सहभागी भएका छन्।
नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल, जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट अध्यक्ष डा. सीके राउत र डा. जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती पनि बैठकमा सहभागी थिए।
राष्ट्रिय सहमतिको खाँचोबारे छलफल
शीतल निवासमा बसेको यो बैठकमा हालको राजनीतिक अवस्था, सम्भावित राष्ट्रिय सहमति, संविधान कार्यान्वयन, संघीयतालाई प्रभावकारी बनाउने उपायलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेलले राष्ट्रिय सहमति र संवादमार्फत समस्या समाधान गर्ने प्रयासस्वरूप यो बैठकको आयोजना गरेको बताइएको छ।
बैठकको पूर्ण विवरण सार्वजनिक भइनसकेपनि सहभागी नेताहरूबीच सहकार्य र समझदारीको आवश्यकता र आगामी दिनका लागि साझा मार्गरेखा निर्माणबारे प्राथमिक छलफल भएको जनाइएको छ।

















