Logo

२५ असोज, काठमाडौँ ।  इजरायल र हमासबीच युद्धविराम घोषणा भएपछि गाजाबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी नागरिक आफ्ना पुराना बस्तीमा फर्कन थालेका छन्। बीबीसीका अनुसार, गाजा शहरबाट विस्थापित परिवारहरू दक्षिणी क्षेत्रबाट उत्तरी भागतर्फ फर्किरहेका छन्। कतिपय विस्थापितहरू आफ्ना सन्तान र सरसामानसहित २० किलोमिटरभन्दा लामो पैदल यात्रा गर्दै घरतर्फ फर्किरहेका छन्।

इजरायली सेनाले युद्धविराम सम्झौता कार्यान्वयन र बन्धक फिर्तीको तयारीका लागि सबै प्रकारका सैन्य कारबाही रोकिएको जनाएको छ। दुई वर्षदेखि जारी युद्धपछि यो सम्झौतालाई स्थायी शान्तिको सम्भावित प्रारम्भिक चरणका रूपमा अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको छ।

इजरायलका बाँकी बन्धकका परिवारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति पहलपछि आशा जागेको बताइएका छन्। ट्रम्पको प्रस्तावमा तयार २० बुँदे युद्धविराम र बन्धक साटासाट सम्झौता अनुसार, इजरायलले दुई सय ५० जना बन्धक र एक हजार सात सय प्यालेस्टिनी कैदीको सूची सार्वजनिक गरेको छ।

हमासले सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा अपहरणमा परेका २५१ जनामध्ये ४७ जनालाई हस्तान्तरण गर्ने जनाएको छ। तीमध्ये २० जना मात्रै जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बाँकी मृतकहरूको शवसमेत इजरायललाई फिर्ता गरिनेछ।

तर, नेपालका नागरिक विपिन जोशीको अवस्थाबारे अझै कुनै पुष्टि हुन सकेको छैन। सीएनएनले सार्वजनिक गरेको सूचीमा पनि उनको नाम समावेश नभएको जनाइएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले यसअघि नै विपिनको नाम उद्धार सूचीमा नरहेको पुष्टि गरेका थिए।

हमास र इजरायलबीचको यो युद्धविराम अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा सम्पन्न भएको हो। सम्झौताअनुसार, आगामी केही दिनभित्र बन्धकहरूको क्रमिक फिर्ती सुरु हुनेछ भने गाजामा मानवीय सहायता सामग्रीका सयौं ट्रक दैनिक प्रवेश गर्ने व्यवस्था गरिएको छ।

दुई वर्ष लामो युद्धका कारण गाजामा हजारौं नागरिकको मृत्यु र लाखौंको विस्थापन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्धविरामपछि अहिले पनि ठूलो संख्यामा नागरिकहरू बमले ध्वस्त भएका गाउँ–सहरमा फर्किँदै छन्।


सम्बन्धित समाचार