२५ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका छन्। उनले आफ्नो पार्टी लोकतान्त्रिक मूल्य, जनादेश र पारदर्शी निर्वाचनका पक्षमा पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
प्रेस सेन्टर नेपालद्वारा शुक्रबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा संयोजक दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग र सञ्चारमाध्यमहरू सबैले निर्वाचनको वातावरण तयार पार्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।
“देश अहिले इतिहासकै जटिल मोडमा छ,” उनले भने, “फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाएर प्रतिनिधिसभामार्फत मुलुकलाई राजनीतिक निकास दिनु हाम्रो सामूहिक दायित्व हो।”
संयोजक दाहालले ‘जेनजी पुस्ता’को भावना र मागलाई सम्बोधन गर्दै राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र राजनीतिक स्थायित्व सुनिश्चित गर्न लोकतान्त्रिक शक्तिहरूबीच साझा दृष्टिकोण र एकता आवश्यक छ।
उनले नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, मधेसवादी दलहरूलगायतका इतिहास बोकेका लोकतान्त्रिक राजनीतिक दलहरूले सहकार्यको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
दाहालले संविधान संशोधनमार्फत समाजमा देखिएको असन्तुष्टि, निराशा र विभेदको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे। उनले विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न तथा देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्ने बताए।
संवादका क्रममा उनले केही राजनीतिक नेताहरूमा अहंकार अझै देखिनु दुःखद भएको उल्लेख गर्दै, “अहिलेको अवस्थाले विगतका कमजोरीहरू सच्याएर जनतामाझ जाने समय आएको छ,” भने।
‘जेनजी आन्दोलन’को भावनालाई आत्मसात् गर्दै आफू पार्टीको अध्यक्षबाट संयोजकका भूमिकामा रुपान्तरण भएको स्पष्ट पार्दै दाहालले आवश्यकता परे संयोजक पदबाट पनि पछि हट्न तयार रहेको जानकारी दिए।
उनले मुलुकमा लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन स्वच्छ र निष्पक्ष निर्वाचन नै राजनीतिक स्थायित्व र जनआकांक्षा पूरा गर्ने एकमात्र मार्ग भएको दोहोर्याए।















