Logo

२५ असोज, काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिका–८, जरैमा एक युवकको घाँटी रेटी बीभत्स हत्या भएको छ। इलाका प्रहरी कार्यालय सुखडका अनुसार २८ वर्षीय केशरबहादुर बुढाको हत्या भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार घटना शुक्रबार राति खाजा खाने क्रममा भएको आपसी विवादबाट सुरु भएको हो। विवाद चर्किँदै गएपछि आक्रोशित भएर दुवैले बुढामाथि धारिलो हतियार प्रयोग गरेका थिए।

डीएसपी अवस्थीका शब्दमा, “मद्यपानपश्चात भएको आपसी विवादकै क्रममा बुढाको घाँटी रेटी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।”

हत्या गरेपछि आरोपीहरू मध्ये एकले मृतकको टाउको छिनाएर बोकेर प्रहरीमा आत्मसमर्पण गर्न जाँदै गर्दा सुखडस्थित प्रतिखेत प्रहरी पोष्ट नजिकै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मृतकको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ, भने शरीर घटनास्थलमै रहेको छ। घटनास्थलमा प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।

घटनापछि स्थानीयवासीहरू त्रसित र आक्रोशित बनेका छन्। स्थानीयहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो घटनाले पुनः सामाजिक हिंसा र मद्यपानजन्य अपराधबारे गम्भीर प्रश्न उठाएको स्थानीय सरोकारवालाहरूको टिप्पणी छ।


सम्बन्धित समाचार