२५ असोज,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा दुई जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
तिहारको तयारीका लागि नयाँ नगरपालिकाको भवनको दक्षिणतर्फ माटो खन्ने क्रममा आज बिहान उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। माटो खन्दै गर्दा अचानक ढिस्को खसेर ६ जना पुरिएका थिए।
घाइतेमध्ये चार जनालाई उद्धार गरेर तत्काल प्रादेशिक अस्पताल, कलैया लगिएको छ। उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।
मृतक र घाइतेहरूको सनाखत भने अझै हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

















