२५ असोज ,काठमाडौँ। हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी सकुशल रहेको र चाँडै रिहा हुनेमा परराष्ट्र मन्त्रालयले आशा व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जोशीको अवस्थाबारे पछिल्ला सूचनाहरूले सकारात्मक संकेत दिएको बताए। “ढिलै भए पनि कब्जापछिको एउटा भिडियो सार्वजनिक भएको छ, मृत्यु सूचीमा उनको नाम छैन, इजरायलले पनि उनी जीवित रहेको भन्दै जानकारी दिइरहेको छ,” क्षेत्रीले भने, “त्यसैले हामी आशावादी छौं कि उनी चाँडै रिहा हुनेछन्।”
क्षेत्रीका अनुसार मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहँदै जोशीको अवस्थाबारे अपडेट लिइरहेको छ। साथै, मन्त्रालयले इजरायल र हमासबीच भएको पछिल्लो शान्ति सम्झौताप्रति समर्थन व्यक्त गरेको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बहुप्रतिक्षित शान्ति सम्झौताको स्वागत गर्दै त्यसलाई सहज कार्यान्वयन गर्न तथा गाजाका जनतामा मानवीय सहायता प्रवाह सुनिश्चित गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरिएको छ। साथै, विपिन जोशीसहित सबै बन्धकहरूको यथासिघ्र सुरक्षित रिहाइको पनि आह्वान गरिएको छ।
नेपालले यो सम्झौता सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको प्रशंसा समेत गरेको मन्त्रालयले जनाएको छ।















