२५ असोज,सुनसरी । प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति भारतको बिरपुरबाट लागू औषध लिएर आउँदै गरेका ईनरुवा–४ निवासी ३३ वर्षीय कृष्णकुमार मेहतालाई पक्राउ गरिएको हो। उनी मोटरसाइकलको पछाडिको सिटमा सवार थिए।
प्रहरी निरीक्षणका क्रममा चेकजाँच गर्न लाग्दा मेहताले झोला फालेर भाग्ने प्रयास गरे पनि उनलाई नियन्त्रणमा लिइएको डिएसपी योगराज खतिवडाले जानकारी दिए।
जाँचका क्रममा उनको झोलाबाट छुट्टाछुट्टै तीनवटा प्लास्टिकमा लुकाइएको जम्मा १९७.६१ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधसहित मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान सुरु गरिएको छ। साथै, घटनास्थलबाट भाग्न सफल मोटरसाइकल चालकको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
डिएसपी खतिवडाका अनुसार, मेहतालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
















