२६ असोज,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको परिवारलाई लक्षित गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति उहाँको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डको सचिवालयले संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले तथ्यहीन र चरित्रहत्या गर्ने खालका सामग्रीहरू प्रवाह गरिएको भन्दै त्यसको कडा शब्दमा भत्र्सना गरेको छ ।
“हाम्रो पार्टी र नेतृत्वविरुद्ध प्रवाह भएका पछिल्ला केही सामग्रीहरूमा कानूनी र नैतिक मापदण्डहरुको अवमूल्यन गरी एकतर्फी ढंगले पूर्वाग्रही, उत्तेजनापूर्ण, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट देखिन्छ,“ सचिवालयका तर्फबाट गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सचिवालयले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार आचारसंहिताको दुरुपयोग गरी गालीगलौज र मानहानि गर्ने काम भएको उल्लेख गरेको छ ।
दुई करोड र सुरक्षाकर्मीबारेको आरोपलाई चुनौती
सचिवालयले अध्यक्ष प्रचण्डको निवासबाट जेन जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता आरोपलाई निराधार ठहर गरेको छ । यस्तै, प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबीलाई पनि सचिवालयले खण्डन गर्दै ती आरोपहरूको सत्यता प्रमाणित गर्न चुनौती दिएको छ ।
साइबर कानूनअनुसार कारबाहीको माग
विज्ञप्तिमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानूनविपरीत भएको भन्दै आवश्यक अनुसन्धान गरी कानूनी कारबाहीका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ ।
भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्री प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक स्वयम् हुनुपर्ने चेतावनी दिँदै सचिवालयले यस्ता भ्रामक कुप्रचारको भ्रममा नपर्न आम जनसमुदायलाई हार्दिक अपिलसमेत गरेको छ ।

















