२६ असोज, वीरगञ्ज । पर्सा र छिमेकी जिल्ला बारामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले आज आइतबारदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले खोप खाएर औपचारिक रूपमा अभियानको शुभारम्भ गरे। उनले खोप सेवन योग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आह्वान गरे।
६ लाख ५४ हजार जनालाई खोप दिने लक्ष्य
स्वास्थ्य कार्यालय पर्साका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने खोप अभियानमा पर्सा जिल्लाका ६ लाख ५४ हजार नागरिकलाई इयूभिकोल–एस खोप दिइनेछ। यो खोप १ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिलाई खोप दिइने छ।
खोप अभियानका लागि पर्साका १४ स्थानीय तहमा १,९५० खोप केन्द्र स्थापना गरिएको छ। यी केन्द्रहरू सरकारी तथा निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय, धार्मिक स्थल, बसपार्क, नेपाल–भारत सीमा नाका, उद्योग–कलकारखानालगायत स्थानमा छन्।
१,८९४ जनशक्ति परिचालन
अभियानलाई सफल बनाउन १,५४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३५० जना स्वास्थ्यकर्मी गरी कुल १,८९४ जनशक्ति परिचालन गरिएको छ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले खोप अभियानले महामारीको नियन्त्रणमा निर्णायक भूमिका खेल्ने बताए। उनका अनुसार, “खोपले हैजाबाट प्रत्यक्ष सुरक्षा दिने भएकाले महामारी रोकथाममा ठुलो राहत मिल्नेछ।”
हैजाको संक्रमण अझै सक्रिय, स्रोत पत्ता लाग्न सकेन
गत भदौ ६ गते वीरगञ्जमा पहिलो पटक तीन जनामा हैजाको संक्रमण देखिएको थियो। असोज २१ गतेसम्म पर्सामा २४५ जनामा संक्रमण पुष्टि भए पनि सबै निको भएर घर फर्किसकेका छन्। तर संक्रमणको मूल स्रोत अझै पत्ता लाग्न सकेको छैन। यद्यपि, अहिलेसम्म हैजाबाट कसैको मृत्यु भने भएको छैन।
अभियानको उद्घाटन कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतले खोप लिएर अभियानमा सहभागिता जनाए।
डा. गुप्ताले खोपको कुनै साइड इफेक्ट नरहेको र सबैले निर्धक्क सेवन गर्न सक्ने बताए। डा. गौतमले तिहारअघि नै सबै लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।
बारा जिल्लामा असोज २९ देखि सुरु हुँदै
पर्सासँगै बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु हुने भएको छ। प्रारम्भिक चरणमा बाराका ६ पालिकामा (कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा, विश्रामपुर) खोप केन्द्रित रूपमा सञ्चालन हुनेछ।
१० लाख डोजभन्दा बढी खोप आयात
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय समूह (क्ष्ऋन्) सँग समन्वय गरी विदेशबाट १० लाख १८ हजार १०० डोज खोप आयात गरेको छ। अभियानलाई विश्व स्वास्थ्य संगठन (ध्ज्इ) र युनिसेफले प्राविधिक सहयोग दिइरहेका छन्।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार, “इयूभिकोल–एस खोपको एक मात्रा खुवाएपछि दुई हप्ताभित्र ८२ प्रतिशत प्रभावकारिता देखिन्छ।”


















