Logo

२८ असोज, काठमाडौँ । हमासले गाजाबाट चार मृत बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत चार शव इजरायली सेनालाई बुझाइएको इजरायली रक्षा बल (IDF) ले पुष्टि गरेको छ।

हमासले हस्तान्तरण गरेका शवहरूमा गाइ इलौजा, योसी शाराबी, नेपाली विद्यार्थी विपिन जोशी र ड्यानियल पेरेज रहेको जनाएको छ। नेपाली कृषि विद्यार्थी जोशीको मृत्युबारे यसअघि इजरायलले औपचारिक पुष्टि गरेको थिएन, तर उनको अवस्थाबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको थियो।

चारै शवलाई पहिचानका लागि तेल अवीभस्थित अबु कबीर फोरेन्सिक इन्स्टिच्युट लगिएको छ। इजरायली अधिकारीहरूले पहिचान प्रक्रिया दुई दिनसम्म लाग्न सक्ने बताएका छन्। विगतमा हमासले बन्धकहरूसँग असम्बन्धित शवहरू पनि पठाएको इतिहास रहेकोले यसपटक पनि सावधानीपूर्वक परीक्षण गरिँदैछ।

चार जना बन्धकको शव पहिचानका लागि लैजाँदै गर्दा इजरायली प्रहरीले ती शव बोकेको भ्यानलाई सलामी दिँदै। (इजरायल प्रहरी)

यसअघि सोमबार नै हमासले २० जना जीवित बन्धकहरूलाई रिहा गरेको थियो। तर, २८ जना मृत बन्धकहरूमध्ये जम्मा चार जनाको मात्र शव फिर्ता गरिएपछि इजरायलले कडा आपत्ति जनाएको छ। इजरायली पक्षले हमासले युद्धविराम सम्झौताअनुसार सबै बन्धक – जीवित र मृत दुवै – ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने दायित्व पूरा नगरेको आरोप लगाएको छ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले भने, “हमासले जानाजानी सम्झौता तोडेको छ। शव फिर्तामा ढिलाइ गर्नु घोर उल्लङ्घन हो, जसको सामना कडा रूपमा गरिनेछ।”

आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफि डेफ्रिनले पनि हमासलाई सम्झौता पालनाको आग्रह गर्दै भने, “हामी एक पनि परिवारलाई बिर्सने छैनौं । सबै बन्धकहरू फर्किएर अन्त्येष्टिसम्म नपुग्दा हामी शान्त रहनेछैनौं।”

त्यस्तै, बन्धक तथा बेपत्ता परिवारहरूको मञ्चले पनि हमासको कदमलाई ‘अमानवीय’ बताउँदै सरकारलाई सम्झौताको कार्यान्वयन तत्काल रोकिनुपर्ने माग गरेको छ। मञ्चले वक्तव्य जारी गर्दै भनेको छ, “यदि हमासले आफ्नो भाग पूरा गर्दैन भने, इजरायलले पनि आफ्नो दायित्व पूरा गर्नु हुँदैन।”

उता, हमासले भने मध्यस्थकर्ताहरू मार्फत सन्देश पठाउँदै अपेक्षित संख्याभन्दा कम शव फिर्ता गर्नु ‘आफूहरूबाट नभई बाह्य कारण भएको’ बताएको छ। कान पब्लिक ब्रोडकास्टरका अनुसार हमासले भनेको छ, “हाम्रो नियन्त्रणबाहेकका क्षेत्रीय अवरोध र सुरक्षासम्बन्धी कारणले गर्दा बाँकी शवहरू फिर्ता गर्न केही समय लाग्नेछ।”

समझौता अन्तर्गत इजरायलले बन्धकहरूको बदलामा करिब २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

गाजाबाट फिर्ता गरिएका शवहरूमध्ये नेपाली विद्यार्थी विपिन जोशीको शव पनि रहेको पुष्टि भएमा उनको अन्त्येष्टि सम्बन्धी औपचारिक प्रक्रिया नेपाल सरकार र इजरायली अधिकारीबीच सहमतिको आधारमा अघि बढाइने बताइएको छ।


सम्बन्धित समाचार